संघीय गणतान्त्रिक नेपालको बागमती प्रदेशअन्तर्गत धादिङ जिल्लामा अवस्थित ज्वालामूखी गाउँपालिका जिल्लाको सदरमुकाम धादिङबेँसीदेखि करिब ११ किलोमिटरको दूरीमा रहेको छ। साविकका चैनपुर, खरी, ढोला र मैदी गाविसलाई समेटी स्थापना भएको यस गाउँपालिकामा हाल ७ वटा वडा रहेका छन्। गाउँपालिकाको पूर्वतर्फ नीलकण्ठ नगरपालिका, पश्चिमतर्फ गोरखा जिल्ला, उत्तरतर्फ नीलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिणतर्फ सिद्धलेक गाउँपालिका रहेका छन्।
ज्वालामुखी गाउँपालिकाको कुल क्षेत्रफल ११४.५ वर्ग किलोमिटर रहेको छ। गाउँपालिकाको पार्श्वचित्रमा उल्लेखित विवरणअनुसार यहाँको जनसंख्या ३२,९२२ र कुल घरधुरी संख्या करिब ५,७३० रहेको छ। सदरमुकामसँगको निकटता र गाउँपालिका क्षेत्रभित्र विस्तार भएको सडक सञ्जालका कारण आवागमन तथा सेवा प्रवाहका लागि यस क्षेत्र तुलनात्मक रूपमा सहज रहेको छ। गाउँपालिकाका सबै वडा कार्यालयसम्म कच्ची मोटरबाटोको पहुँच पुगेको छ।
कृषि तथा पशुपालन यहाँका प्रमुख आर्थिक गतिविधि हुन्। धान, मकै, कोदो र गहुँ प्रमुख खाद्यान्न बालीका रूपमा उत्पादन हुँदै आएका छन् भने अदुवा, पिँडालु लगायतका कृषि उपजको उत्पादन तथा विस्तारको सम्भावना रहेको छ। पशुपालनतर्फ विशेषगरी बाख्रापालन व्यवसायको सम्भावना रहेको छ भने अन्य पशुपन्छीपालन तथा मौरीपालनलाई समेत व्यावसायिक रूपमा विकास गर्न सकिने अवस्था रहेको छ।
प्राकृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले पनि ज्वालामुखी गाउँपालिका महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। नेत्रावती तथा बूढीगण्डकी नदीको प्राकृतिक सौन्दर्य, पाविल हिमाल, गणेश हिमाल तथा विभिन्न टार क्षेत्रका रमणीय दृश्य यहाँका प्रमुख प्राकृतिक आकर्षण हुन्। जलमुखीमाई, ढोला मण्डली, मैदीकोट, खरीकोट तथा चैनपुरकोटजस्ता धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूले गाउँपालिकाको पहिचानलाई थप समृद्ध बनाएका छन्। यस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत ग्रामीण तथा धार्मिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको छ।
धादिङ जिल्लाका महत्वपूर्ण टारहरूमध्ये पिपलटार पनि यस क्षेत्रको महत्वपूर्ण भू–भागका रूपमा रहेको छ। कृषि तथा अन्य आर्थिक गतिविधिका दृष्टिले यस्ता क्षेत्रको व्यवस्थित उपयोग तथा विकास गर्न सकिने सम्भावना रहेको छ।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट ज्वालामुखी गाउँपालिकाका वडा नं. १, ५ र ७ प्रभावित तथा डुबान क्षेत्रसँग सम्बन्धित रहेका छन्। आयोजना सम्पन्न भएपछि निर्माण हुने जलाशयलाई जलयात्रा तथा जल पर्यटनसँग जोडेर विकास गर्न सकिने सम्भावना रहेको छ। यसबाट स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न योगदान पुग्न सक्ने देखिन्छ।
समग्रमा, ज्वालामुखी गाउँपालिका कृषि, पशुपालन, प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक सम्पदा र पर्यटनका विविध सम्भावना बोकेको स्थानीय तह हो। उपलब्ध प्राकृतिक तथा मानवीय स्रोत–साधनको उचित उपयोग, पूर्वाधार विकास तथा स्थानीय उत्पादन र पर्यटनको प्रवर्द्धनमार्फत गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासलाई थप गति दिन सकिने पर्याप्त आधार रहेको छ।